91
जो सर्वोच्‍चको छत्रछायामा बस्छ, त्‍यो सर्वशक्तिमान्‌को छायामा रहनेछ । 2 म परमप्रभुको बारेमा भन्‍छु, "उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्‍छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।" 3 किनकि उहाँले तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ । 4 उहाँले तिमीलाई आफ्नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिँ ढाल र सुरक्षा हो । 5 तिमी रातको त्रासदेखि वा दिनमा आउने काँडदेखि, 6 वा अँध्‍यारोमा चहार्ने रूढी वा मध्‍यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ । 7 हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन । 8 तिमीले दुष्‍टको दण्ड नियाल्ने र देख्‍ने मात्र छौ । 9 किनकि परमप्रभु मेरो शरणस्थान हुनुहुन्‍छ । सर्वोच्‍चलाई तिम्रो शरणस्थान पनि बनाऊ । 10 कुनै खराबीले तिमीलाई जित्‍नेछैन । तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन । 11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ । 12 तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्‌गामा ठोकाउनेछैनौ । 13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ । 14 त्‍यो मप्रति समर्पित भएको हुनाले म त्‍यसलाई बचाउनेछु । म त्‍यसलाई सुरक्षा दिनेछु किनभने त्‍यो मप्रति बफदार छ । 15 जब त्‍यसले मलाई पुकारा गर्छ, तब म त्‍यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्‍यससँग हुनेछु । म त्‍यसलाई विजय दिनेछु र त्‍यसको आदर गर्नेछु । 16 म त्‍यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्‍यसलाई मेरो उद्धार देखाउनेछु ।