92
हे सर्वोच्‍च, परमप्रभुलाई धन्‍यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2 बिहानमा तपाईंको करारको विश्‍वस्तता र हरेक रात तपाईंको सत्‍यता घोषणा गर्नु, 3 दश तारे वीणा बजाउँदै र सारङ्‌गीको धुनसँगै । 4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्‍दले गाउनेछु । 5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन् ! तपाईंका विचारहरू धेरै गहन छन् । 6 एक जना निर्दयी व्यक्तिले जान्‍दैन, न त मूर्खले यो बुझ्छः 7 जब दुष्‍टहरू घाँसझैँ उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्‍त विनाशतिर लागेका हुन्‍छन् । 8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ । 9 वास्तवमा, हे परमप्रभु, आफ्ना शत्रुहरूलाई हेर्नुहोस् । वास्तवमा, आफ्ना शत्रुहरूलाई हेर्नुहोस् । तिनीहरू नाश हुनेछन् ! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् । 10 तपाईंले मेरो सीङलाई जङ्‌गली गोरुको सीङझैँ ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ । 11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् । 12 धर्मीहरू खजूरको रूखझैँ मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैँ बढ्नेछन् । 13 तिनीहरू परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्‍दिरमा चोकमा मौलाउनेछन् । 14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्‍छन्, 15 त्‍यसले परमप्रभु न्‍यायी हुनुहुन्‍छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।