90
हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो शरणस्थान हुनुभएको छ । 2 पहाडहरू बनाउनुअघि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअघि, अनादिदेखि अनन्‍तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्‍छ । 3 तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्‍छ, र तपाईं भन्‍नुहुन्‍छ, "ए मानवजातिका सन्‍तानहरू हो, फर्क । 4 किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिँ बितेर जाँदा हिजोको दिन र रातको एक पहर जस्‍तै हो । 5 तपाईंले तिनीहरूलाई बाढीले झैँ बढार्नुहुन्‍छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरू जस्‍तै हुन्‍छन् । 6 बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्छ । 7 साँच्‍चै, हामी तपाईंको रीसमा नष्‍ट भएका छौँ र तपाईंको क्रोधमा हामी त्रसित छौँ । 8 तपाईंले हाम्रा अधर्महरू आफ्नो सामु, हाम्रा लुकेका पापहरू आफ्नो उपस्थितिमा राख्‍नुभएको छ । 9 हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्‍छ । हाम्रो वर्षहरू सुस्सकेराझैँ बित्छ । 10 हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्‍थ छौँ भने असी वर्ष हुन्‍छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजान्‍छन् र हामी उडिजान्‍छौँ । 11 तपाईंको रीसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्‍दछ ? 12 त्‍यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौँ । 13 हे परमप्रभु, फर्कनुहोस् ! यो कहिलेसम्म हुनेछ ? आफ्नो सेवकमाथि दया गर्नुहोस् । 14 बिहान हामीलाई तपाईंको करारको विश्‍वस्तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौँ । 15 हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्‍यति नै हामीलाई खुसी पार्नुहोस् । 16 तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीहरूले तपाईंको ऐश्‍वर्य देखून् । 17 परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।