83
हे परमेश्‍वर, चुपचाप नबस्‍नुहोस् ! हे परमेश्‍वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् । 2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् । 3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्‌यन्‍त्र रच्‍छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्धमा मिलेर योजना गर्छन् । 4 तिनीहरूले भनेका छन्, "आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौँ । तब इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।" 5 तिनीहरूले एउटै रणनीतिले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् । 6 यसमा एदोम र इश्माएलका पालहरू, र मोआबका मानिसहरू र हग्रीहरू पर्छन्, 7 जसले गबाल, अम्मोन, अमालेकसँग मिलेर षड्‌यन्‍त्र रच्‍छन् । यसमा पलिश्ती र टुरोसका बासिन्‍दाहरू पनि पर्छन् । 8 तिनीहरूसँग अश्शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्‍तानहरूलाई सहायता गर्दै छन् । सेला 9 तिनीहरूलाई पनि तपाईंले मिद्यानलाई गरेझैँ, सीसरालाई गरेझैँ र कीशोन खोलामा याबीनलाई गरेझैँ गर्नुहोस् । 10 तिनीहरू एन्‍दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मल जस्‍तै भए । 11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैँ, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नाझैँ बनाउनुहोस् । 12 तिनीहरूले भने, "हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।" 13 हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिँदै उडेको धूलोझैँ, हावाले उडाइको भुसझैँ बनाउनुहोस् । 14 वन डढाउने आगोझैँ र पहाडको आगोको ज्वालाझैँ बनाउनुहोस् । 15 तपाईंको शक्तिशाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् । 16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् । 17 तिनीहरू लज्‍जित होऊन् र सधैँ त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् । 18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्‍छ भनी तिनीहरूले जान्‍नेछन् ।