84
हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्‍दर छ ! 2 परमप्रभुको चोकको निम्ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्‍छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ । 3 हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौँथलीले तपाईंको वेदीहरूको नजिकै त्‍यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ । 4 तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्‍यका हुन् । तिनीहरूले निरन्‍तर तपाईंको प्रशंसा गर्छन् । सेला 5 त्‍यो मानिस धन्‍यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूल बाटो छ । 6 आँसुको बेँसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ । 7 तिनीहरूले बलमाथि बल पाएर जान्‍छन् । तिनीहरूमध्‍ये हरेक सियोनमा परमेश्‍वरको सामु देखा पर्छन् । 8 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला 9 हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्त जनको निम्ति चासो देखाउनुहोस् । 10 किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिन भन्‍दा असल हुन्‍छ । दुष्‍टहरूका पालहरूमा बस्‍नु भन्‍दा म आफ्नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु । 11 किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्‍छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिँड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न । 12 हे सर्वशक्तिमान् परमप्रभु, त्‍यो मानिस धन्‍यको हो, जसले तपाईंमा भरोसा गर्छ ।