81
हाम्रो बल परमेश्‍वरको निम्ति ठूलो स्‍वरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर । 2 गीत गाओ र खैँजडी बजाओ, वीणासँगै सारङ्‌गीको मीठो धुन बजाओ । 3 औँसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक । 4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो । 5 जब उहाँ मिश्र देशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको स्‍वर मैले सुनेँ, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः 6 "मैले त्‍यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्‍ने त्‍यसका हातहरू मुक्त भए । 7 तिमीहरूको सङ्‌कष्‍टमा तिमीहरूले पुकारा गर्‍यौ र मैले तिमीहरूलाई सहायता गरेँ । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरेँ । सेला 8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्‍छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए ! 9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुने थिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पूजा गर्नु हुँदैन । 10 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । तिमीहरूको मुख चौडा खोल र त्‍यो म भर्नेछु । 11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञापालन गरेनन् । 12 त्‍यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठीक लाग्छ त्‍यही गरून् । 13 ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरू मेरा मार्गहरूमा हिँडेका भए । 14 तब म तुरुन्‍तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथेँ । 15 परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून् ! तिनीहरू सदाको निम्ति अपमानित होऊन् । 16 इस्राएललाई म उत्तम गहूँ खुवाउँथेँ । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें ।"