80
हे इस्राएलका गोठालो, ध्‍यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैँ डोर्‍याउनुहुन्‍छ । तपाईं जो करूबहरू भन्‍दा माथि विराजमान हुनुहुन्‍छ, हामीमाथि चम्कनुहोस् । 2 एफ्राइम, बेन्‍यामीन र मनश्शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् । 3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बचाइनेछौँ । 4 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ? 5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँसु पिउनदिनुभएको छ । 6 हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्तो केही बनाउनुहुन्‍छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् । 7 हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौँ । 8 तपाईंले मिश्र देशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो । 9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो । 10 त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो । 11 यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्‍मै फैलायो । 12 तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून् ? 13 वनका बँदेलहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् । 14 हे सर्वशक्तिमान् परमेश्‍वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्‍यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् । 15 तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो । 16 यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्‍छन् । 17 तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् । 18 तब तपाईंबाट हामी तर्केर जानेछैनौँ । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौँ । 19 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौँ ।