77
म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ । 2 मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजेँ । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो । 3 मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरेँ । म मूर्च्छा पर्दा मैले उहाँको बारेमा विचार गरेँ । सेला 4 तपाईंले मेरा आँखा खुल्ला राख्नुभयो । म बोल्नै नसक्ने कष्टमा थिएँ । 5 मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरेँ । 6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरेँ । मैले होशियार भएर विचार गरेँ र के भएको थियो भनी बुझ्ने कोसिस गरेँ । 7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन ? 8 के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो ? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो ? 9 के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो ? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो ? सेला 10 मैले भनेँ, "यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।" 11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु । 12 तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु । 13 हे परमेश्वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्वरसित कुन परमेश्वरको तुलना हुन्छ र ? 14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ । 15 आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला 16 हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे । 17 बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे । 18 तपाईंको गर्जनको स्वर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो । 19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् । 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैँ आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।