78
हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन । 2 दृष्‍टान्‍तमा म आफ्नो मुख खोल्नेछु । विगतका गुप्त कुराको बारेमा म गीत गाउनेछु । 3 हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यी नै हुन् । 4 तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौँ । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौँ । 5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्‍तानहरूलाई सिकाउने आज्ञा दिनुभयो । 6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरीहरू, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्‍ताहरूलाई ती भन्‍नुपर्छ । 7 तब तिनीहरूले आफ्नो आशा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् । 8 तब तिनीहरू आफ्ना पुर्खाहरू जस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठीक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् । 9 एफ्राइमीहरू धनुले सुसज्‍जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के । 10 तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे । 11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से । 12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको आश्‍चर्यका कुराहरूलाई तिनीहरूले बिर्से । 13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैँ खडा गर्नुभयो । 14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो । 15 उहाँले उजाडस्थानमा चट्टान चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो । 16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैँ बगाउनुभयो । 17 तापनि तिनीहरूले उजाडस्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे । 18 आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए । 19 तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, "परमेश्‍वरले हामीलाई उजाडस्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्‍छ र ? 20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्‍छ ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?" 21 जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्‍यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रीसले इस्राएललाई आक्रमण गर्‍यो, 22 किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् । 23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो । 24 तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो । 25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो । 26 उहाँले आकाशमा पूर्वीय बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्‍याउनुभयो । 27 धूलोझैँ उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैँ चराहरू बर्साउनुभयो । 28 तिनीहरूका शिविरको बीचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे । 29 त्‍यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो । 30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो । 31 तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तीमध्‍येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो । 32 यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्‍वास गरेनन् । 33 यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए । 34 जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे । 35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्‍थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्‍थ्यो भनी तिनीहरूले सम्झे । 36 तर तिनीहरूले आफ्ना मुखले उहाँसँग चाप्‍लुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झूट बोले । 37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् । 38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रीस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन । 39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो । 40 उजाडस्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए ! 41 तिनीहरूले परमेश्‍वरलाई धेरै पल्ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए । 42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो, 43 जब उहाँले मिश्र देशमा आफ्ना डरलाग्दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्ना चमत्कारहरू देखाउनुभयो । 44 उहाँले मिश्र देशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, जसले गर्दा तिनीहरूले आफ्ना नदीहरूका पानी पिउन सकेनन् । 45 उहाँले झीँगाका हूल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो । 46 तिनीहरूका अन्‍न फट्‌याङ्‌ग्राहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो । 47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो । 48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्नुभयो । 49 उहाँको रीसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो । उहाँले क्रोध, रीस र समस्यालाई विपत्ति ल्याउने एजेन्टझैं पठाउनुभयो । 50 आफ्नो रीसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्‍युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो । 51 मिश्र देशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो । 52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैँ डोर्‍याउनुभयो र बगाललाई झैँ तिनीहरूलाई उजाडस्थानमा बाटो देखाउनुभयो । 53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो । 54 त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्त गरेको यो पर्वतमा ल्याउनुभयो । 55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्ना पालहरूमा बसाल्नुभयो । 56 तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् । 57 तिनीहरू अविश्‍वासयोग्य भए र आफ्ना पुर्खाहरूले झैँ धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनु जस्‍तै भरोसाहीन थिए । 58 किनकि तिनीहरूले उहाँलाई आफ्ना अग्ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्ना मूर्तिहरूले उहाँलाई डाहले रिसाउने बनाए । 59 जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो । 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बीचमा वास गर्नुभएको पाललाई उहाँले त्‍याग्‍नुभयो । 61 उहाँले आफ्नो सामर्थ्यलाई कसैको कब्जामा सुम्पिदिनुभयो र आफ्नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो । 62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो । 63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भस्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन । 64 तिनीहरूका पूजाहारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् । 65 अनि परमप्रभु निद्राबाट जागेझैँ, दाखमद्यको कारणले कराउने योद्धा जस्‍तै उठ्नुभयो । 66 उहाँले आफ्ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्‍त लाजमा पार्नुभयो । 67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन । 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो । 69 उहाँले आफ्नो पवित्रस्थानलाई स्वर्गझैँ, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैँ बनाउनुभयो । 70 उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्याउनुभयो । 71 आफ्ना पाठाहरूका साथमा हिँड्ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो । 72 आफ्नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।