54
हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्‍याय गर्नुहोस् । 2 हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस् । 3 किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्‍यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन् । सेला 4 हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्‍छ । मलाई उचाल्नुहुने परमप्रभु नै हुनुहुन्‍छ । 5 उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्‍वस्ततामा तिनीहरूको नाश गर्नुहोस् ! 6 म तपाईंलाई स्वेच्‍छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँलाई धन्‍यवाद दिनेछु, किनकि यो असल छ । 7 किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचाउनुभएको छ । मेरो आँखाले मेरा शत्रुहरूमाथि विजयको दृष्‍टिले हेरेको छ ।