55
हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस् । 2 मलाई ध्‍यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्‍टमा मलाई विश्राम हुँदैन । 3 मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याउँछन् र रीसमा मलाई सताउँछन् । 4 मेरो हृदय मभित्र काम्छ र मृत्‍युका त्रासहरू ममाथि परेका छन् । 5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ । 6 मैले भनेँ, "मसित ढुकुरका जस्ता पखेटाहरू भए त ! तब म उडेर जाने थिएँ र विश्राम लिने थिएँ । 7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्‍ने थिएँ । सेला 8 आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।" 9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु । 10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि त्‍यसको माझमा छन् । 11 यसको बीचमा दुष्‍टता छ । थिचोमिचो र छलले त्‍यसका गल्लीहरूलाई छोड्दैनन् । 12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्धमा उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्‍यसबाट लुक्‍ने थिएँ । 13 तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्‍ठ साथी थियो । 14 हामीले एकसाथ मीठो सङ्‌गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्यौँ । 15 तिनीहरूमाथि अचानक मृत्‍यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्‍यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ । 16 मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र परमप्रभुले मलाई बचाउनुहुनेछ । 17 साँझ, बिहान र मध्‍यान्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्‍नुहुनेछ । 18 मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित रूपमा छुटाउनुहुनेछ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए । 19 परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्‍दैनन् 20 मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन । 21 उसको मुख नौनीझैँ चिप्लो थियो, तर त्‍यसको हृदय शत्रुतापूर्ण थियो । त्‍यसका शब्दहरू तेल भन्‍दा पनि चिल्ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्‌गो तरवारहरू नै थिए । 22 आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न । 23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खाडलमा लानुहुनेछ । रक्तपात गर्नेहरू र छली मानिसहरू अरू भन्‍दा आधा आयुसम्म पनि बाँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।