53
मूर्खले आफ्नो मनमा भन्‍छ, "ईश्‍वर छँदैछैन ।" तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन । 2 कसैले बुझ्छन्, वा परमेश्‍वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्‍तानहरूलाई स्वर्गबाट हेर्नुहुन्‍छ । 3 तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन । 4 के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैँ खान्‍छन् र तिनीहरूले परमेश्‍वरलाई पुकारा गर्दैनन् ? 5 डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्‌कर डरमा हुन्‍छन् । किनकि तिमीहरूको विरुद्धमा पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपष्‍ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ । 6 इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्‍थ्यो ! जब परमेश्‍वरले आफ्ना मानिसहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।