52
हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ ? परमेश्‍वरको करारको विश्‍वस्तता हरेक दिन आउँछ । 2 छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्‍तै विनाशको योजना बनाउँछ । 3 तिमीले असल भन्‍दा खराब र धार्मिकता भन्‍दा झूट बोल्न रुचाउँछौ । सेला 4 तँ छली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् । 5 परमेश्‍वरले तँलाई त्‍यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला 6 धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्‍यसलाई हाँसोमा उडाउनेछन् र यसो भन्‍नेछन्, 7 "हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्‍यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्‍यो । र त्‍यसले अरूको विनाश गर्दा त्‍यो बलियो थियो ।" 8 तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूख जस्‍तो छु । म परमेश्‍वरको करारको विश्‍वस्ततामा सदासर्वदा भरोसा गर्नेछु । 9 तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्‍यवाद चढाउनेछु । तपाईंका भक्तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आशा गर्नेछु, किनकि यो असल हो ।