51
हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् । 2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् । 3 किनकि म आफ्ना अपराधहरू जान्दछु र मेरो पाप सधैँ मेरै सामु छ । 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठीक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठीक हुनुहुन्छ । 5 हेर्नुहोस्, म पापमा नै जन्मेँ । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ । 6 हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्वासयोग्ता खोज्नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ । 7 मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु । 8 मलाई तपाईंको आनन्द र खुसी सुन्न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्दित होऊन् । 9 मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् । 10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठीक आत्मालाई नयाँ तुल्याउनुहोस् । 11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् । 12 तपाईंको मुक्तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् । 13 तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् । 14 हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म कराउनेछु । 15 हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ । 16 किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्न, नत्र म बलि चढाउँथेँ । होमबलिमा तपाईं आनन्दित हुनुहुन्न । 17 परमेश्वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्वर, तपाईंले तोडिएको र पश्चात्तापी हृदयलाई घृणा गर्नुहुनेछैन । 18 सियोनलाई तपाईंको शुभेच्छामा भलाइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पुनःनिर्माण गर्नुहोस् । 19 तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्पूर्ण होमबलिमा प्रसन्न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।