50
सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुभएको छ । 2 सुन्दरताको सिद्धता, सियोनबाट, परमेश्वर प्रज्वलित हुनुभएको छ । 3 हाम्रो परमेश्वर आउनुहुन्छ र चुपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ । 4 उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोलाउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्नुभएको होस् । 5 "मेरा विश्वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।" 6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला 7 "ए मेरा मानिसहरू, सुन र म बोल्नेछु । म परमेश्वर, तेरो परमेश्वर हुँ । 8 तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् । 9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन । 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौँ पहाडका गाइवस्तु मेरै हुन् । 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् । 12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्ने थिइनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् । 13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु ? 14 परमेश्वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्चमा आफ्नो भाकल पूरा गर । 15 कष्टको समयमा मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।" 16 तर दुष्टलाई परमेश्वर यसो भन्नुहुन्छ, "मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैँले मेरो करार तेरो मुखमा लिएको छस्, 17 किनभने तैँले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस् ? 18 तैँले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्यभिचार गर्नेसँग तँ मिल्छस् । 19 तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ । 20 तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैँले गर्छस् । 21 तैँले यी कुराहरू गरेको छस्, तर म चुप लागेको छु । त्यसैले म पनि तँ जस्तै हो भनी तैँले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैँले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु । 22 हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्राटुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन । 23 धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठीक किसिमले योजना गर्ने कुनै पनि व्यक्तिलाई म परमेश्वरको उद्धार देखाउनेछु ।"