49
ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्‍दाहरू हो कान थाप । 2 माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ । 3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्‍यान समझको हुनेछ । 4 म आफ्ना कान दृष्‍टान्‍तमा लगाउनेछु । म आफ्नो दृष्‍टान्‍तलाई वीणा बजाएर सुरु गर्नेछु । 5 जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्‍ने ? 6 आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धनको बारेमा घमण्ड गर्नेहरूसँग म किन डराउने ? 7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्‍यसको निम्ति परमेश्‍वरलाई छुटकाराको मोल तिर्न सक्दैन, 8 किनकि कसैको जीवनको छुटकाराको मूल्य महङ्‌गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन । 9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्‍यसको शरीर सडेर नजाओस् । 10 किनकि त्‍यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्‍छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् । 11 आफ्ना परिवारहरू सधैँभरि निरन्‍तर रहन्‍छन्, र आफू बसोबास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्‍छ भन्‍ने तिनीहरूका भित्री विचार हुन्‍छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्‍छन् । 12 तर धन भए पनि मानिस सधैँ बाँच्‍न सक्दैन । त्‍यो नष्‍ट हुने जङ्‌गली पशु जस्‍तै हो । 13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्‍यता दिन्‍छन् । 14 भेडाहरूझैँ ती चिहानको निम्ति नियुक्त हुन्‍छन्, र मृत्‍युचाहिँ तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् । 15 तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला 16 कोही धनी हुँदा र त्‍यसको घरको गौरव बढ्दा नडरा । 17 किनकि जब त्‍यो मर्नेछ, तब त्‍यसले कुनै कुरा पनि लानेछैन । त्‍यसको गौरव त्‍यसको पछिपछि जानेछैन । 18 त्‍यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बिताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन् - 19 त्‍यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै ज्‍योति देख्‍नेछैनन् । 20 जससँग सम्पत्ति छ, तर समझ छैन, त्‍यो जङ्‌गली पशुहरू जस्‍तै हो, जो नाश हुन्‍छ ।