45
असल विषयले मेरो हृदय भरिएर पोखिन्‍छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठूलो स्‍वरले पढ्नेछु । मेरो जिब्रो तयार लेखकको कलम हो । 2 मानवजातिका सन्‍तान भन्‍दा तपाईं सुन्‍दर हुनुहुन्‍छ । तपाईंका ओठहरूमा अनुग्रह खन्‍याइन्‍छ । यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष् दिनुभएको छ भनी हामी जान्‍दछौँ । 3 हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् । 4 विश्‍वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् । 5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूको मुटुमा छन् । 6 हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्‍यायको राजदण्ड तपाईंको राज्‍यको राजदण्ड हो । 7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरू भन्‍दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ । 8 तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ । 9 राजाकी छोरीहरू तपाईंका आदरणीय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् । 10 हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स । 11 यसरी राजाले तिम्रो सुन्‍दरताको इच्‍छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्‍छ । उहाँलाई आदर गर । 12 टुरोसकी छोरी उपहारसहित त्‍यहाँ हुनेछिन् । मानिसहरूमध्‍येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन् । 13 दरबारका छोरी साह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ । 14 बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिँड्ने कन्‍याहरूलाई तिमीकहाँ ल्याइनेछन् । 15 तिनीहरू खुसी र रमाहटले डोर्‍याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन् । 16 तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीहरूले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ । 17 म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्‍यवाद दिनेछन् ।