44
हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौँ, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ती तिनीहरूले हामीलाई भनेका छन् । 2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्‍ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो । 3 किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्‍थ्‍यो । 4 हे परमेश्‍वर, तपाईं मेरो राजा हुनुहुन्‍छ । याकूबको निम्ति विजय दिनुहोस् । 5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौँ । हाम्रा विरुद्धमा खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौँ । 6 किनकि म आफ्नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ । 7 तर हाम्रो शत्रुहरूबाट तपाईंले हामीलाई बचाउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ । 8 दिनभरि हामीले परमेश्‍वरमा नै गर्व गरेका छौँ र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्‍यवाद दिनेछौँ । सेला 9 तर अहिले तपाईंले हामीलाई फाल्नुभएको छ र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्‍न । 10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्‍छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्छन् । 11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैँ बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ । 12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्नो सम्पत्ति वृद्धि गर्नुभएको छैन । 13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुहुन्‍छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे । 14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्‍छ । 15 दिनभरि मेरि अनादर मेरो सामु हुन्‍छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ, 16 हप्काउने र अपमान गर्ने स्‍वरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले । 17 यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झूटो किसिमले व्यवहार गरेका छैनौँ । 18 हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्किएका छैनन् । 19 तापनि तपाईंले हामीलाई गम्भीर रूपले नष्‍ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्‍युको छायाले ढाक्‍नुभएको छ । 20 हामीले आफ्नो परमेश्‍वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौँ भने, 21 के परमेश्‍वरले यो कुरा खोजी गर्नुहुन्‍नथ्यो र ? किनकि हृदयका गोप्यताहरू उहाँले जान्‍नुहुन्‍छ । 22 वास्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिँदैछौँ । मार्न लगिएका भेडाहरूझैँ हामी ठानिएका छौँ । 23 हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्‍छ ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् । 24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्‍छ ? 25 किनकि हामी पग्लेर धूलोमा मिलेका छौँ । हाम्रा शरीरहरू भुइँमा टाँसिन्‍छन् । 26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्नो करारको विश्‍वस्तताको निम्ति हाम्रो उद्धार गर्नुहोस् ।