43
हे परमेश्‍वर, मलाई न्‍याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्नुहोस् । 2 किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्‍छ । तपाईंले मलाई किन तिरस्कार गर्नुभएको छ ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिँड्नुपर्छ ? 3 ओहो, तपाईंको प्रकाश र तपाईंको सत्‍यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् । 4 तब परमेश्‍वरको वेदीमा, मेरो अपार आनन्‍दमा म परमेश्‍वरकहाँ जानेछु । हे परमेश्‍वर, मेरो परमेश्‍वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु । 5 ए मेरो प्राण, तँ किन निराश हुन्‍छस् ? मभित्रै तँ किन उदास हुन्‍छस् ? परमेश्‍वरमा आशा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्‍छ ।