42
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्वर, म तपाईंको तृष्णा गर्छु । 2 परमेश्वरको, जीवित परमेश्वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्वरको सामु देखा परूँ ? 3 दिनरात मेरा आँसु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैँ यसो भन्छन्, "तेरो परमेश्वर खोइ कहाँ छन् ?" 4 मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भीडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भीडसँग आनन्द र प्रशंसाको स्वरसँगै परमेश्वरको मन्दिरमा तिनीहरूलाई डोर्याएँ । 5 ए मेरो प्राण, तँ किन निराश हुन्छस् ? मभित्रै तँ किन उदास हुन्छस् ? परमेश्वरमा आशा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ । 6 हे मेरो परमेश्वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तीन टाकुराहरूबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु । 7 तपाईंका झरनाहरूका हल्लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् । 8 तापनि परमप्रभुले दिनको समयमा आफ्नो करारको विश्वस्ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ । 9 परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, "तपाईंले मलाई किन बिर्सनुभएको छ ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने ?" 10 मेरा हाडहरूमा तरवार परेझैँ, मेरा शत्रुहरूले मलाई हप्काउँछन्, तिनीहरू सधैँ मलाई यसो भन्छन्, "तेरो परमेश्वर खोइ कहाँ छन् ?" 11 ए मेरो प्राण, तँ किन निराश हुन्छस् ? मभित्रै तँ किन उदास हुन्छस् ? परमेश्वरमा आशा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।