46
परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्‍छ । 2 यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिँधमा खसाइए पनि, हामी डराउँनेछैनौँ । 3 त्‍यसको पानीहरू गर्जेर उल्लिए पनि र त्‍यसको गर्जनले पर्वतहरू कामे पनि । सेला 4 एउटा नदी छ जसका प्रवाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ । 5 परमेश्‍वर त्‍यसको बीचमा हुनुहुन्‍छ । त्‍यो डग्‍नेछैन । परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्‍यसो गर्नुहुनेछ । 6 जातिहरू क्रुद्ध भए र राज्‍यहरू हल्लिए । उहाँले आफ्नो स्‍वर उचाल्नुभयो र पृथ्वी पग्लियो । 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्‍छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्‍छ । सेला 8 आओ, परमप्रभुका कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर । 9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्‍तसम्म बन्‍द गराउनुहुन्‍छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ । 10 शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु । 11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्‍छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्‍छ । सेला