36
खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्‍यसका आँखामा परमेश्‍वरको भय नै हुँदैन । 2 किनकि त्‍यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्‍यसले आफैलाई सान्‍त्वना दिन्‍छ । 3 त्‍यसका शब्दहरू पापी र छली छन् । त्‍यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन । 4 त्‍यो ओछ्यानमा पल्टिँदा, त्‍यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्‍यो दुष्‍ट मार्गतिर लाग्छ । त्‍यसले खराबीलाई इन्कार गर्दैन । 5 हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्‍ठा बादलसम्म पुग्छ । 6 तपाईंको धार्मिकता परमेश्‍वरको पर्वत जस्‍तो छ । तपाईंका न्‍यायहरू गहिरा सागर जस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्‍छ । 7 हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्‍छन् । 8 तपाईंको मन्‍दिरको प्रशस्ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्‍छ । 9 किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्‍योतिमा हामीले प्रकाश देख्‍नेछौँ । 10 तपाईंलाई चिन्‍नेहरूलाई तपाईंको करारको विश्‍वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् । 11 अहंकारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‌न नदिनुहोस् । 12 त्‍यहाँ खराबी गर्नेहरू ढलेका छन् । तिनीहरूलाई पछारिएको छ र उठ्न सक्दैनन् ।