35
हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् । 2 तपाईंको साना ढाल र ठूला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् । 3 मलाई खेद्‌नेहरूका विरुद्धमा तपाईंको भाला र बन्चरो प्रयोग गर्नुहोस् । मेरो प्राणलाई भन्‍नुहोस, "म नै तेरो उद्धार हुँ ।" 4 मेरो ज्‍याल लिन खोज्‍नेहरू लज्‍जित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्‍नेहरू पछि हटून् र व्याकुल होऊन् । 5 परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैँ होऊन् । 6 परमप्रभुका दूतले तिनीहरूलाई खेद्‌दा तिनीहरूका मार्ग अँध्‍यारो र चिप्लो होस् । 7 बिनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । बिनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्‍छन् । 8 विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् । 9 तर म परमप्रभुमा आनन्‍दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु । 10 मेरा सबै हाडहरूले भन्‍नेछन्, "हे परमप्रभु, तपाईंझैँ को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्‍नेहरूबाट बचाउनुहुन्‍छ ? 11 अधर्मी साक्षीहरू खडा हुन्‍छन् । तिनीहरू मलाई झूटो दोष लगाउँछन् । 12 तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु । 13 तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्‌ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसेँ । 14 मेरो आफ्नै भाइलाई झैँ मैले शोक गरेँ । मेरी आमाको निम्ति झैँ मैले विलाप गरेँ । 15 तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्क पारे । तिनीहरूले मलाई निरन्‍तर हप्काए । 16 कति पनि आदर नगरी तिनीहरूले मेरो गिल्ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्ना दाँत किटे । 17 हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्‍छ ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस् । 18 तब ठूलो सभामा म तपाईंलाई धन्‍यवाद दिनेछु । धेरै जना मानिसहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु । 19 मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूलाई नदिनुहोस् । 20 किनकि तिनीहरूले शान्‍तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्‍तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् । 21 मेरो विरुद्धमा तिनीहरूले आफ्ना मुख चौडा खोल्छन् । तिनीहरूले भने, "आहा, आहा, हाम्रा आँखाले देखेका छन् । 22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चुप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् । 23 आफैलाई जगाउनुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् । 24 हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । 25 तिनीहरूले आफ्नो हृदयमा यसो नभनून्, "आहा, हामीले जे इच्‍छा गर्‍यौँ सो पाएका छौँ ।" तिनीहरूले यसो नभनून्, "हामीले त्‍यसलाई निलेका छौँ । 26 मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् । 27 मेरो निर्दोषपनाको इच्‍छा गर्नेहरू आनन्‍दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्‍तर यसो भनून्, "परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्‍छ ।" 28 तब म तपाईंको न्‍यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।