37
खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर । 2 किनकि घाँसझैँ तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैँ ओइलाएर जानेछन् । 3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोबास गर र विश्वस्ततामा उपभोग गर । 4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गर्नुहुनेछ । 5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ । 6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैँ र तिम्रो निर्दोषपना मध्यदिनझैँ प्रकट गर्नुहुनेछ । 7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आशा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ । 8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ । 9 दुष्ट काम गर्नेहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको आशा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् । 10 केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ । 11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठूलो समृद्धिमा खुसी हुनेछन् । 12 दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्धमा दाह्रा किट्छ । 13 परमप्रभु त्यसमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ । 14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् । 15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् । 16 धेरै जना दुष्ट मानिसहरूका प्रशस्तता भन्दा धर्मीसँग भएको थोरै नै असल हो । 17 किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ । 18 परमप्रभुले निष्खोटमाथि दिनदिनै हेर्नुहुन्छ र तिनीहरूको उत्तराधिकार सदाको निम्ति हुनेछ । 19 समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ । 20 तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरव जस्ता हुनेछन् । तिनीहरू भस्म हुनेछन् र धूवाँमा हराउनेछन् । 21 दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ । 22 परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् । 23 परमप्रभुद्वारा नै मानिसका कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनीय हुन्छ । 24 त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलीले समात्नुहुन्छ । 25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीहरूले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन । 26 ऊ दिनभरि नै अनुग्रही हुन्छ र पैँचो दिन्छ अनि त्यसका छोराछोरीहरूले आशिष् पाउँछन् । 27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ । 28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैँ सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् । 29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा वास गर्नेछन् । 30 धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ । 31 आफ्नो परमेश्वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् । 32 दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हेर्छ र तिनलाई मार्न खोज्छ । 33 परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न । 34 परमप्रभुको आशा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ । 35 दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैँ फैलिएको मैले देखेको छु । 36 तर जब म फेरि त्यो बाटो गएँ, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजेँ तर त्यसलाई भेट्टाउन सकिएन । 37 इमान्दार मानिसलाई हेर र सोझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ । 38 पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ । 39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ । 40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।