29
ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ । 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर । 3 परमप्रभुको स्‍वर पानीहरूमाथि सुनिन्‍छ । महिमाको परमेश्‍वर गर्जनुहुन्‍छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्‍छ । 4 परमप्रभुको स्‍वर शक्तिशाली छ । परमप्रभुको स्‍वर महिमित छ । 5 परमप्रभुको स्‍वरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्राटुक्रा पार्नुहुन्‍छ । 6 उहाँले लेबनानलाई बाछोझैँ र सिरिओनलाई जवान गोरुझैँ उफ्रन लगाउनुहुन्‍छ । 7 परमप्रभुको स्‍वरले आगोको ज्वालाहरू पठाउँछ । 8 परमप्रभुको स्‍वरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्‍छ । 9 परमप्रभुको स्‍वरले फलाँटका रूखहरूलाई बङ्‌ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्‍दिरमा हुने हरेकले भन्‍छ, "महिमा !" 10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्‍छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्‍छ । 11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्‍छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष् दिनुहुन्‍छ ।