28
हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु । 2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्ना हातहरू उचाल्दा मेरो बिन्‍तीको स्‍वर सुन्‍नुहोस् । 3 अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्ना छिमेकीहरूसँग शान्‍तिका कुरा गर्छन् तर आफ्ना हृदयहरूमा खराबी हुन्‍छ । 4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताको मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् । 5 किनभने तिनीहरूले परमप्रभुका कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैन । 6 परमप्रभु धन्‍यको होऊन् किनभने उहाँले मेरो बिन्‍तीको स्‍वर सुन्‍नुभएको छ । 7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्‍छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु । 8 परमप्रभु आफ्ना मानिसहरूका बल हुनुहुन्‍छ, अनि उहाँ आफ्नो अभिषिक्त जनलाई बचाउने शरणस्थान हुनुहुन्‍छ । 9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष् दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस् ।