27
परमप्रभु मेरो ज्‍योति र मेरो उद्धार हुनुहुन्‍छ । म कोसँग डराउनु ? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्‍छ । म कोसँग त्रसित हुनु ? 2 जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले । 3 फौजले मेरो विरुद्धमा शिविर हाले तापनि, मेरो हृदय डराउनेछैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु । 4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्‍यो खोज्‍नेछुः परमप्रभुको सुन्‍दरता हेर्न, र उहाँको मन्‍दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ । 5 किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ । 6 तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ र उहाँको पालमा आनन्‍दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्‍नेछु र गाउनेछु । 7 हे परमप्रभु, मैले पुकारा गर्दा मेरो स्‍वर सुन्‍नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् । 8 मेरो हृदयले तपाईंको बारेमा यसो भन्‍छ, "उहाँको मुहारको खोजी गर् !" हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु । 9 मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रीसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्‍याग्‍नुहोस् वा नछोड्नुहोस् । 10 मेरो बुबा र मेरी आमाले मलाई त्‍याग्‍न सक्छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ । 11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस् । 12 मलाई मेरा शत्रुहरूको इच्‍छामा नछोड्नुहोस्, किनकि झूटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् । 13 मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्‍थ्यो होला ? 14 परमप्रभुको आशा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आशा गर ।