30
हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन । 2 हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरेँ र तपाईंले मलाई निको पार्नुभयो । 3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ । 4 हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्‍यवाद देओ । 5 किनकि उहाँको रीस क्षणभरको निम्ति मात्र हुन्‍छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्‍द आउँछ । 6 दृढतामा मैले भनेँ , "म कदापि डग्‍नेछैन । 7 हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो । 8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरेँ र मेरा परमप्रभुबाट कृपा खोजेँ । 9 मेरो मृत्‍युमा म चिहानमा गएँ भने के फाइदा हुन्‍छ र ? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र ? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र ? 10 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् । 11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्‌ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाइदिनुभएको छ । 12 त्‍यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चुप लाग्‍नेछैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्‍यवाद दिनेछु ।