22
हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको ? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्‍छ ? 2 हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न र रातको समयमा पनि म शान्‍त छैन । 3 तापनि तपाईं पवित्र हुनुहुन्‍छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैँ विराजमान हुनुहुन्‍छ । 4 हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो । 5 तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् । 6 म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु । 7 मलाई देख्‍ने सबैले मलाई गिज्‍याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हेरेर आफ्नो टाउको हल्लाउँछन् । 8 तिनीहरू भन्‍छन्, "त्‍यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्‍यसलाई बचाऊन्, किनकि त्‍यो उहाँमा नै खुसी हुन्‍छ । 9 तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो । 10 गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ 11 मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन । 12 धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् । 13 गर्जने सिंहले आफ्नो शिकार च्‍यातेझैँ, मेरो विरुद्धमा तिनीहरू आफ्ना मुख चौडा खोल्छन् । 14 पानीलाई झैँ मलाई खन्‍याइँदै छ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैँ भएको छ । मेरो अन्‍तसकरणमा त्‍यो पग्लिन्‍छ । 15 माटोको भाँडोको खपटोझैँ मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्‍छ । तपाईंले मलाई मृत्‍युको धूलोमा सुताउनुभएको छ । 16 किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हूलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् । 17 म आफ्ना सबै हाड गन्‍न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् । 18 मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् । 19 हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् । 20 मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्‌गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस् । 21 मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्‌गली साँढेहरूका सीङहरूबाट मलाई बचाउनुहोस् । 22 तपाईंको नाउँ म आफ्ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु । 23 तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्‍तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्‍तान हो, उहाँको भयमा खडा होओ । 24 कष्‍टमा परेका व्यक्तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो । 25 तपाईंको कारणले म ठूलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु । 26 थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् । 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् । 28 किनकि राज्‍य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्‍छ । 29 पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत् गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् । 30 आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् । 31 तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।