21
हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन् ! 2 तिनको मनको इच्‍छा तपाईंले तिनलाई पूरा गर्नुभएको छ र तिनको ओठको बिन्‍ती तपाईंले बाँकी राख्‍नुभएको छैन । 3 किनकि तपाईंले तिनलाई भरपुर आशिष्‌हरू दिनुहुन्‍छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्‍छ । 4 तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो । 5 तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ । 6 किनकि तपाईंले तिनलाई सदाको आशिष् दिनुहुन्‍छ । आफ्नो उपस्थितिको आनन्‍दले तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्‍छ । 7 राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्‍चको करारको विश्‍वस्तताले तिनी डग्‍नेछैनन् । 8 तपाईंका हातले तपाईंका सबै शत्रुहरूलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ । 9 तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैँ तपाईंले तिनीहरूलाई जलाउनुहुन्‍छ । परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई भस्म पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ । 10 तिनीहरूका सन्‍तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीहरूलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ । 11 किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्‌यन्‍त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् । 12 किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्नो धनु तान्‍नुहुनेछ । 13 हे परमप्रभु, आफ्नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौँ र स्तुति गर्छौं ।