20
कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्‍वरको नाउँले तपाईंलाई सुरक्षा देऊन् 2 र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् । 3 उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला 4 तपाईंको हृदयको इच्‍छा उहाँले तपाईंलाई पूरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पूरा होऊन् । 5 अनि हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौँ र हाम्रा परमेश्‍वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौँ । परमप्रभुले तपाईंका सबै बिन्‍तीहरू सुन्‍नुभएको होस् । 6 परमप्रभुले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्‍छ भनी म जान्‍दछु । उहाँलाई बचाउन सक्‍ने आफ्नो दाहिने हातको बलले, आफ्नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ । 7 कोही रथहरूमा र अरूहरू घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं । 8 तिनीहरू तल झारिनेछन् र ढल्नेछन्, तर हामी उठ्नेछौँ र सोझो खडा हुनेछौँ । 9 हे परमप्रभु, राजालाई बचाउनुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।