19
आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् । 2 दिनदिनै भाषण दिन्छ । त्यसले हरेक रात ज्ञान प्रकट गर्छ । 3 त्यहाँ कुनै बोली वा शब्दको आवाज सुनिँदैन। तिनीहरूका आवाज सुनिएको हुँदैन । 4 तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्नुभएको छ । 5 सूर्यचाहिँ दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्तै हो र आफ्नो दौड सिध्याउँदा आनन्दित हुने बलियो मानिस जस्तै हो । 6 एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्छ । त्यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन । 7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने । 8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छ, आँखालाई ज्योति दिने । 9 परमप्रभुको भय शुद्ध छ, सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठीक छन् । 10 तिनीहरू सुन भन्दा, धेरै शुद्ध सुन भन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिरहेको मह भन्दा पनि गुलिया छन् । 11 हो, तीद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ती पालना गर्नुमा ठूलो इनाम छ । 12 कसले आफ्ना सबै गल्तीहरू बुझ्न सक्छ ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् । 13 तपाईंको दासलाई अहंकारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु । 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन् ।