37
वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्‍यो आफ्नो ठाउँबाट हटेको छ ।2 सुन्‍नुहोस्, उहाँको आवाजको चर्को स्‍वर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्‍नुहोस् ।3 उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्म आफ्नो बिजुली पठाउनुहुन्छ ।4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न ।5 परमेश्‍वर आफ्नो स्‍वरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्‍नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।6 किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्‍यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसहरूले उहाँका कामहरू देख्‍न सकून् ।8 तब जङ्‌गली जनावरहरू लुक्‍ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।9 आँधी-बेहरी दक्षिणको आफ्नो वासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।10 परमेश्‍वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैँ जम्छ ।11 वास्तवमा बाक्लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।12 उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।13 उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिलेकाहीँ सुधारको लागि यस्तो हुन्छ, कहिलेकाहीँ उहाँको जमिनको लागि, र कहिलेकाहीँ करारको विश्‍वस्तताको कामको रूपमा हुन्छ ।14 हे अय्‍यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्‍नुहोस् ।15 परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ ?16 के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो ?17 जब बतास नचली भूमि शान्‍त हुँदा दक्षिणबाट बतास चल्न थाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ ?18 आकाशलाई उहाँले झैँ तपाईंले फैलाउन सक्‍नुहुन्छ - आकाश, जुन धातु पगालेर बनाइएको ऐना जत्तिकै कडा हुन्छ ?19 उहाँलाई हामीले के भन्‍नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ ।20 म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र ? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र ?21 आकाशमा बतास चलेपछि र त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्‍यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन् ।22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ - परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।23 सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौँ । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्‍यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्त पार्नुहुन्छ ।24 त्‍यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्झनेहरूलाई उहाँले ध्‍यान दिनुहुन्‍न ।"