36
एलीहूले निरन्तर बोले र यसो भने,2 "मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्वरको समर्थनमा मैले अलिकति अरू भन्नु छ ।3 म धेरै टाढाबाट आफ्नो ज्ञान प्राप्त गर्नेछु । धार्मिकता मेरा सृष्टिकर्ताको हो भनी म स्वीकार गर्छु ।4 किनकि वास्तवमा नै मेरा शब्दहरू झूटा हुनेछैनन् । ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ ।5 हेर्नुहोस्, परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्न । समझशक्तिको तागतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।6 दुष्ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्न, बरु, दुःख भोग्नेहरूका लागि जे ठीक हुन्छ, त्यही गर्नुहुन्छ ।7 उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, तर त्यसको साटोमा राजालाई झैँ तिनीहरूलाई सधैँभरि सिंहासनमा राख्नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।8 तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्झिए भने,9 तब तिनीहरूले जे गरेका हुन्छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।10 उहाँको निर्देशन सुन्नलाई उहाँले तिनीहरूका कान खुल्ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।11 तिनीहरूले उहाँको स्वर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्टिमा बिताउनेछन् ।12 यद्यपि, तिनीहरू सुन्दैनन् भने, तिनीहरू तरवारले नष्ट पारिनेछन् । तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन् ।13 हृदयमा ईश्वर नभएकाहरूले आफ्नो रीसलाई थुपार्छन् । परमेश्वरले तिनीहरूलाई बाँध्नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन् ।14 तिनीहरू आफ्नो युवावस्थामा मर्छन् । तिनीहरूको जीवन झूटा धर्मका वेश्याहरूका बीचमा बित्छ ।15 कष्टमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूका कष्टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्नुहुन्छ ।16 वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्छा गर्नुहुन्छ, र तपाईंको टेबिल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ ।17 तर दुष्ट मानिसहरूलाई तपाईं न्याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।18 तपाईंको रीसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घूसको ठूलो रकमले तपाईंलाई पाखा नलगाओस् ।19 के तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन सक्छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्न ? अर्थात् तपाईंको तागतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ ?20 अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्छन् ।21 तपाईं पाप गर्नतिर नफर्कनलाई होशियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्टद्वारा तपाईंको जाँच हुँदै छ ।22 हेर्नुहोस्, परमेश्वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँ जस्तै शिक्षक को छ र ?23 उहाँको चालको विषयमा कसले उहाँलाई कहिल्यै निर्देशन दिएको छ र ? कसले उहाँलाई कहिल्यै यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ ?'24 उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।25 सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।26 हेर्नुहोस्, परमेश्वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौँ । उहाँका वर्षहरूको सङ्ख्याको गणना गर्न सकिँदैन ।27 किनकि उहाँले पानीको थोपालाई माथि तान्नुहुन्छ, आफ्नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,28 जसलाई बादलहरूले तल खन्याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।29 वास्तवमा के कसैले बादलको वृहत फैलावट, र उहाँको वासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ ?30 हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्नुहुन्छ ।31 यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।32 उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।33 यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ ।