31
मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्‍यालाई म कुदृष्‍टिले हेर्न सक्छु र ?2 किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्छ र ? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्छ र ?3 विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिँ दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।4 के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र ?5 म झूटो कुरामा हिँडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,6 न्‍यायको तराजूमा मलाई जोखियोस्, जसले गर्दा परमेश्‍वरले मेरो सत्‍यनिष्‍ठा जान्‍नुहुनेछ ।7 मेरो कदम बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,8 तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।9 मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,10 तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्‍यसमाथि घोप्‍टो परून् ।11 किनकि त्‍यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्‍यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍छ ।12 किनकि त्‍यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।13 मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,14 जब मलाई दोष लगाउन परमेश्‍वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र ? जब मेरो न्‍याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र ?15 मलाई गर्भमा रच्‍नुहुनेले नै तिनीहरूलाई पनि रच्‍नुभएको होइन र ? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र ?16 गरीब मानिसहरूलाई मैले तिनीहरूको इच्‍छा वञ्‍चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,17 अर्थात् मैले आफ्नो गाँस एक्लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने -18 किनकि मेरो युवावस्थादेखि मसित अनाथ बाबुसितझैँ गरी हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।19 लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,20 मेरो भेडाको ऊनले आफूलाई न्‍यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,21 सहरको मूल ढोकामा मैले आफ्नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्नो हात उठाएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।22 मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।23 किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।24 सुनलाई मैले आफ्नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो', भने,25 मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।26 सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको, अर्थात् चन्‍द्रमा चम्किलो भएर हिँडेको हेरेको भए,27 अनि मेरो हृदय गुप्तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पूजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए -28 यो पनि न्‍यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्थेँ ।29 मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।30 वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।31 मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्‍यूबको भोजनले तृप्त नभएको मानिस कसैले भेट्टाउन सक्छ ?'32 (विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्ति मैले सधैँ आफ्ना ढोकाहरू खुला गरेको छु), र त्‍यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।33 आफ्नो दोषलाई आफ्नै लुगाले ढाकेर, मानव-जातिले झैँ मैले आफ्ना पापहरू लुकाएको भए,34 (किनकि ठूलो भीडदेखि म डराएँ, परिवारहरूको निन्‍दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागेँ र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,36 निश्‍चय पनि त्‍यो म आफ्नै काँधमा खुल्‍लमखुल्‍ला बोकेर हिँड्थेँ । मुकुटझैँ त्‍यो म लगाउँथेँ ।37 जसरी निर्धक्क राजकुमार उहाँकहाँ जान्छन्, त्‍यसरी नै उहाँलाई म आफ्ना कदमहरूको हिसाब दिन्थेँ ।38 मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,39 त्‍यसको फसलको लागि मूल्य नचुकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने,40 तब गहूँको साटोमा काँढा र जौको साटोमा झारपात उम्रियोस् ।" अय्‍यूबका वचनहरू सकिए ।