29
अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने ,2 "ओहो, जस्तो म विगतका महिनाहरूमा थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो,3 जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्थेँ ।4 ओहो, जस्तो मेरा खुसीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो,5 जति बेला सर्वशक्तिमान् मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरो वरिपरि हुन्थे,6 जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो !7 जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थेँ, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थेँ,8 जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्ति खडा हुन्थे र उभिन्थे ।9 जब म आउँथेँ, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।10 कुलीनहरूका आवाजहरू बन्द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो ।11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे,12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।14 मैले धार्मिकता पहिरिन्थेँ, र यसले मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैँ हुन्थ्यो ।15 दृष्टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ ।16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बीचबाट सिकारलाई बाहिर निकालेँ ।18 तब मैले भनेँ, 'म आफ्नै गुँडमा मर्नेछु । म आफ्ना दिनलाई बालुवाका कण जत्तिकै वृद्धि गराउनेछु ।19 मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।20 ममा भएको आदर सधैँ ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैँ मेरो हातमा सधैँ नयाँ हुन्छ ।'21 मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्न तिनीहरू चुप लागेर बस्थे ।22 मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथे । मेरो बोली तिनीहरूमा पानीको थोपाझैँ खस्थ्यो ।23 तिनीहरूले वृष्टिको प्रतीक्षा गरेझैँ सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैँ, मेरा वचनहरू पिउनलाई आफ्ना मुख खुला गर्थे ।24 तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथेँ । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे ।25 मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्थेँ । राजा आफ्ना सेनाको बीचमा बसेझैँ, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैँ म बस्थेँ ।"