24
दुष्ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्ले किन तोक्नुभएको छैन ? परमेश्वरप्रति विश्वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन् ?2 यस्ता दुष्ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।3 अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्धकका रूपमा लैजान्छन् ।4 दरिद्र मानिसहरूलाई उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन् ।5 हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैँ, यी गरिब मानिसहरू होशियारी भएर खानेकुरा खोज्दै आफ्नो काममा जान्छन् । शायद अराबाले तिनीहरूका छोराछोरीहरूलाई खानेकुरा जुटाउनेछ ।6 गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्टहरूका फसलबाट टिप्न छुटेका दाख बटुल्छन् ।7 तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्नलाई तिनीहरूसित केही हुँदैन ।8 तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका वासस्थान नभएको हुनाले तिनीहरू ठूला ढुङ्गाको छेउमा पल्टिन्छन् ।9 यस्ता दुष्ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्धकको रूपमा लैजान्छन् ।10 तर गरिब मानिसहरू लुगाबिना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्नका बिटाहरू बोक्छन् ।11 गरिब मानिसहरूले ती दुष्टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।12 सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्च्याउँछ । तर परमेश्वरले दोष लगाउनुहुन्न ।13 केही दुष्ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।14 उज्यालो हुनुअघि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोर जस्तो हुन्छ ।15 साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।16 अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।17 तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैँ हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।18 तापनि पानीको सतहमा देखा पर्ने फिँजझैँ तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।19 जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बनाउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ ।20 उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । कीराले त्यसलाई मीठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रूखलाई झैँ दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।21 बच्चा नजन्माएकी बाँझी स्त्रीलाई दुष्टले निलिहाल्छ । उसले विधवाको निम्ति कुनै असल कुरा गर्दैन ।22 तापनि परमेश्वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्न ।23 तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्छन् ।24 यी मानिसहरू उच्च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्न स्तरमा पुर्याइनेछ । अरू सबैलाई झैँ तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्नको बालाझैँ तिनीहरूलाई काटिनेछ ।25 यस्तो होइन भने, कसले मलाई झूटा प्रमाणित गर्न सक्छ ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ ?