21
तब अय्‍यूबले जवाफ दिए र भने,2 "मेरा वचनलाई ध्‍यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्‍त्वना होस् ।3 मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।4 मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र ? म किन अधैर्य नहुनु ?5 मलाई हेर्नुहोस् र छक्क पर्नुहोस्, र आफ्नो हातले आफ्नो मुख छुनुहोस् ।6 मैले आफ्नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।7 दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्यमा शक्तिशाली हुन्छन् ?8 तिनीहरूका सन्‍तानहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन्, र तिनीहरूका छोराछोरीहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन् ।9 तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ ।10 तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिँदैन ।11 तिनीहरूले आफ्ना केटाकेटीहरूलाई बगालझैँ बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरीहरू नाच्‍छन् ।12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्‌गीतमा रमाउँछन् ।13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् ।14 तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौँ ।15 सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नु ? हामीले उहाँमा प्रार्थना चढायौँ भने हामीले के लाभ पाउँछौँ र ?'16 हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्नै हातमा छैन र ? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।17 कतिपल्ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्ट दुःख पठाउनुहुन्छ ?18 कतिपल्ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैँ भएका छन् ?19 तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्ड परमेश्‍वरले उसका छोराछोरीहरूलाई दिनुहुन्छ ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।20 उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस् ।21 किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र ?22 परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्‍याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र ?23 एक जना मानिस पूरा बलियो अवस्थामा, बिलकुल शान्‍ति र चैनमा मर्छ ।24 उसको शरीर हृष्‍टपुष्‍ट हुन्छ, र उसका हड्‌डीहरूको मासी ताजा हुन्छ ।25 अर्को मानिस मनको तिक्ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।26 तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई कीराहरूले ढाक्छन् ।27 हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।28 किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ ?'29 यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन ? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन,30 कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ ?31 दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र ? उसको गरेको कामको बदला कसले लिन सक्छ र ?32 तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।33 मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्‍ती मानिसहरू उसको अगि-अगि हुनाले, सबै मानिसहरू उसको पछिपछि जानेछन् ।34 तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्‍त्वना दिन्छ, किनकि तपाईंहरूको जवाफमा झूटबाहेक केही छैन ?"