10
म आफ्नो जीवनदेखि थकित छु । म आफ्नो गुनासो स्वतन्‍त्र भएर पोखाउनेछु । म आफ्नो प्राणको तिक्ततामा बोल्नेछु ।2 म परमेश्‍वरलाई भन्‍नेछु, "मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्‍छ सो देखाउनुहोस् ।3 आफ्ना हातको कामलाई तुच्‍छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्काउनुहुन्‍छ ?4 के तपाईंका मासुका आँखा छन् ? के मानिसले झैँ तपाईं देख्‍नुहुन्‍छ ?5 के तपाईंका दिनहरू मानव-जातिका दिनझैँ, वा तपाईंका वर्ष मानिसका वर्षझैँ छन्,6 तपाईंले मेरो अधर्मको जाँचबुझ गर्नुहुन्‍छ, र मेरो पाप खोजी गर्नुहुन्‍छ,7 म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ ?8 तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्‍छ ।9 म बिन्‍ती गर्छु, माटोलाई आकार दिएझैँ तपाईंले मलाई बनाउनुभएको कुरा सम्झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्‍छ ?10 के तपाईंले मलाई दूधझैँ खन्‍याउनुभएको छैन, अनि पनीरझैँ जमाउनुभएको छैन ?11 तपाईंले मलाई छाला र मासुले ढाक्‍नुभएको छ, अनि हड्‌डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको छ ।12 तपाईंले मलाई जीवन र करारको विश्‍वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ ।13 तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्‍थ्यो भनी म जान्‍दछुः14 मैले पाप गरेँ भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।15 मैले दुष्‍टतासाथ काम गरेको भए, मलाई धिक्कार छ ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु - मेरो कष्‍ट हेर्नुहोस् ।16 मेरो शिर ठाडो पारिएको भए, सिंहले झैँ तपाईंले मलाई सिकार बनाउनुहुन्‍थ्यो । अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्‍चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्‍थ्यो ।17 तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्‍छ, र मेरो विरुद्धमा आफ्नो रीस बढाउनुहुन्‍छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्‍छ ।18 त्‍यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ ? मैले आफ्नो आत्मा त्‍यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्यो ।19 म कहिल्यै अस्तित्वमा नभए जस्‍तो हुन्‍थेँ । म गर्भबाट नै चिहानमा लगिन्‍थेँ ।20 के मेरा दिनहरू थोरै मात्र छैनन् र ? त्‍यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,21 जहाँबाट म कहिल्‍यै फर्कन्‍न त्‍यहाँ जानुअघि, अन्धकारको देश र मृत्‍युको छायामा,22 मध्‍यरात जस्‍तै अँध्‍यारो देशमा, कुनै नियमबिनाको, मृत्‍युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्‍यरात जस्‍तो हुन्‍छ ।"