9
तब अय्यूबले जवाफ दिए र भने,2 "यो यस्तै हो भनी म साँच्चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्वसित ठीक हुन सक्छ ?3 उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।4 परमेश्वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिल्यै कठोर पारेको छ अनि सफल भएको छ र ?5 जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्छ, तब उहाँले कसैलाई चेतावनी नदिइकन ती हटाउनुहुन्छ ।6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।7 उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ,8 जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,9 उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।10 उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।11 हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिँड्नुहुँदा मलाई पत्तै हुँदैन ।12 उहाँले कुनै कुरो खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ ? कसले उहाँलाई भन्न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ ?'13 परमेश्वरले आफ्नो रीस रोक्नु हुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।14 कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र ?15 म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्छु ।16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्नुभयो भनेर म विश्वास गर्दिनँ ।17 किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र बिनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।18 उहाँले मलाई फेरि सास फेर्न दिनुहुन्न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।19 ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ ?20 म ठीक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।21 म दोषरहित छु, तर अब फेरि म आफ्नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।22 यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्ट मानिसलाई सँगसँगै नष्ट गर्नुहुन्छ ।23 जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।24 पृथ्वी दुष्ट मानिसको हातमा दिइएको छ । परमेश्वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्न भने त्यो को हो त ?25 मेरा दिनहरू कुद्ने दूत भन्दा पनि द्रूत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।26 ती निगालोको डुङ्गा जस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैँ छन् ।27 आफ्ना गुनासाहरूको विषयमा म बिर्सिन्छु, आफ्नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भने पनि,28 आफ्ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन भनी म जान्दछु ।29 म दोषी ठहराइनेछु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने ?30 आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्ना हात अत्यन्तै सफा बनाए पनि,31 परमेश्वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।32 किनकि परमेश्वर म जस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौँ ।33 हाम्रा बीचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्ना हात पसार्न सक्छ ।34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।35 तब म बोल्नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।