13
हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।2 तपाईंहरू जे जान्‍नुहुन्‍छ, म त्‍यो जान्‍दछु । म तपाईंहरू भन्‍दा कम छैनँ ।3 तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्‍वरसित तर्क गर्ने इच्‍छा गर्छु ।4 तर तपाईंहरू झुटले सत्‍यलाई लुकाउनुहुन्‍छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्‍छ ।5 तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्‍यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्‍तीलाई सुन्‍नुहोस् ।7 परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र ? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र ?8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र ? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र ?9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त ? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्‍छ र ?10 तपाईंहरूले गुप्तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ ।11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्‌कित पार्दैन र ? उहाँको डर तपाईंहरूमाथि पर्दैन र ?12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।13 तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्न सकूँ । मलाई जे हुनु छ होस् ।14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्नो जीवनलाई आफ्नो हातमा लिनेछु ।15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।17 हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।18 हेर्नुहोस्, आफ्नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु ।19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ ? तपाईंहरू त्‍यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्नो जीवन दिन्‍छु ।20 हे परमेश्‍वर, मेरो निम्ति दुई वटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।21 आफ्नो अत्‍याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्नेछु र तपाईंले जवाफ दिनुहोस् ।23 मेरा अधर्म र पाप कति धेरै छन् ? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रु जस्‍तो व्यवहार किन गर्नुहुन्‍छ ?25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र ? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र ?26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्त कुराहरू लेख्‍नुहुन्‍छ । मेरो युवावस्थाका अधर्म प्राप्त गर्ने तपाईंले मलाई बनाउनुहुन्‍छ ।27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्‍छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्‍छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्‍छ ।28 यद्यपि म खेर जाने सडेगलेको कुरा जस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्र जस्‍तै छु ।