12
तब अय्‍यूबले जवाफ दिए र भने,2 "निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ । बुद्धि तपाईंहरूसितै मर्नेछ ।3 तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरू भन्‍दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्‍दैन र ?4 म आफ्नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्‍यायी र दोषरहित मानिस - अहिले म हाँस्‍ने कुरा भएको छु ।5 चैनमा बस्‍नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्‍छ । चिप्लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।6 डाँकुहरूका पालको उन्‍नति हुन्‍छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन् ।7 तर अब जङ्‌गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् ।8 वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् ।9 परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्‍ये कुनचाहिं प्राणीले जान्‍दैन र ?10 उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।11 जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र ?12 पाका मानिसहरूसित बुद्धि हुन्‍छ । लामो आयुमा समझशक्ति हुन्‍छ ।13 परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।14 हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्‍यहाँ छुटकारा हुँदैन ।15 हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्‍यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।16 उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन् ।17 उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्‌गै खुट्टा हिंडाउनुहुन्‍छ । उहाँले न्‍यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्‍छ ।18 उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्‍छ ।19 उहाँले पूजाहारीहरूलाई शोकमा नाङ्‌गै खुट्टा हिंडाउनुहुन्‍छ, र शक्तिशाली मानिसहरूलाई फाल्नुहुन्‍छ ।20 उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्‍छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्याउनुहुन्‍छ ।21 उहाँले राजकुमारहरूमाथि निन्‍दा खन्‍याउनुहुन्‍छ, र बलिया मानिसहरूको पेटी फुकाल्नुहुन्‍छ ।22 उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्‍छ, र अँध्‍यारो छायामा ज्‍योति ल्याउनुहुन्‍छ ।23 उहाँले जातिहरूलाई बलियो पार्नुहुन्‍छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्‍छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्‍छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्‍छ ।24 उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्‍छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्‍छ जहाँ कुनै बाटो हुँदैन ।25 उज्‍यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्‍छैझै धर्मराउने बनाउनुहुन्‍छ ।