11
सोपर नमातीले जवाफ दिए र यसो भने,2 "यति धेरै शब्दका जवाफ दिनुहुँदैन र ? धेरै बोल्ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ र ?3 तपाईंको अहंकारले अरूलाई मौन बनाउनुपर्छ र ? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र ?4 किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्‍छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'5 तर परमेश्‍वर बोल्नुभए हुन्‍थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्‍थ्यो ।6 उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्‍छ । तपाईंको अधर्मले पाउने भन्‍दा थोरै दण्ड परमेश्‍वरले तपाईं दिनुहुन्‍छ भनी जान्‍नुहोस् ।7 परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्‍न सक्‍नुहुन्‍छ ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्‍छ ?8 यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्‍नुहुन्‍छ ? यो पाताल भन्‍दा गहिरो छ । तपाईंले के जान्‍न सक्‍नुहुन्‍छ ?9 यसको नाप पृथ्वी भन्‍दा लामो छ, र समुद्र भन्‍दा चौडा छ ।10 उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र ?11 किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्‍छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र ?12 तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्‌गली गधाले मानिसलाई जन्‍म दिंदा तिनीहरूले यो प्राप्त गर्छन् ।13 तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए,14 मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।15 तब तपाईंले निश्‍चय पनि लाजको सङ्‌केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्यो र डराउनुहुने थिएन ।16 तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्यो ।17 तपाईंको जीवन मध्‍यदिनको भन्‍दा चम्किलो हुन्‍थ्यो । त्‍यहाँ अँध्‍यारो भए पनि, त्‍यो बिहान जस्‍तै हुन्‍थ्यो ।18 त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्यो र तपाईंको विश्राम सुरक्षित हुन्‍थ्यो ।19 साथै, तपाईं विश्राममा पल्टनुहुन्‍थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्‍थे ।20 तर दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन् । भाग्‍नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।"