14
स्‍त्रीबाट जन्‍मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्‍छ ।2 ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्‍छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।3 के तपाईंले यीमध्‍ये कुनैलाई हेर्नुहुन्‍छ ? के तपाईंले मलाई आफूसँगै न्‍यायमा ल्याउनुहुन्‍छ ?4 अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र ? कसैले सक्दैन ।5 मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्‍नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।6 ऊबाट आफ्नो दृष्‍टि हटाउनुहोस्, यसैले कि उसले विश्राम पाओस्, यसरी उसले सक्छ भने, ज्‍यालाको मानिस झैं आफ्नो दिनमा रमाउन सकोस् ।7 एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् ।8 त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,9 तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्‍यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।10 तर मानिसचाहिं मर्छ । त्‍यो कमजोर हुन्‍छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्‍छ ?11 जसरी एउटा तलाउबाट पानी लोप हुन्‍छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,12 त्‍यसरी नै मानिसहरू ढल्किन्‍छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्ना निद्राबाट उठ्नेछन् ।13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्तमा राख्‍नुहुन्‍छ, र त्‍यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।14 एक जना मानिस मर्यो भने, के ऊ फेरि बाँच्‍नेछ र ? त्‍यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।15 तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्नो हातको कामको लागि तपाईंको इच्‍छा हुन्‍छ ।16 तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ, र वास्ता गर्नुहुन्‍छ । तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न ।17 मेरो अपराध थैलोमा बन्‍द गरिन्‍छ । तपाईंले मेरो अधर्म ढाक्‍नुहुन्‍छ ।18 तर पहाडहरू खस्छन् र कतै पुग्दैनन्, चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन्,19 नदीहरूले ढुङ्‌गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्‍यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्‍छ ।20 तपाईंले सधैं उसलाई हराउनुहुन्‍छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्‍छ, र उसलाई मर्न दिनुहुन्‍छ ।21 उसका छोराहरूको आदर भयो कि भएन भनेर उसलाई जान्‍दैन । र तिनीहरू होच्‍याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन ।22 उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्ति शोक गर्छ ।