9
बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानून र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।2 यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तहरूभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला भए । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसहरूमाथि तिनीहरूको डर परेको थियो ।3 सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय बडाहाकिमहरू, बडाहाकिमहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो ।4 मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तहरूभरि फैलियो किनकि यी मानिस मोर्दकै झन्झन् महान् बन्दै थिए ।5 यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे ।6 शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसहरूलाई मारेर नष्ट पारे ।7 तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,8 पोराता, अदलिया, अरीदाता,9 पर्मशता, अरीशै, अरीदै र बैजाता,10 र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दश जना छोराहरूलाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् ।11 त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो ।12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दश छोराहरूसहित शूशनको किल्लामा पाँच सय मानिसहरूलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान् ? अब तिम्रो बिन्ती के हो ? त्यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? त्यो तिमीलाई दिइनेछ ।”13 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलिको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दशै जना छोराहरूका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”14 त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दशै जना छोराहरूलाई झुण्ड्याए ।15 अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तीन सय जना मानिसहरूलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् ।16 राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसहरूलाई मारे, तर आफूले मारेका मानिसहरूका मूल्यवान् थोकहरूमा भने तिनीहरूले आफ्ना हात लगाएनन् ।17 यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।18 तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए । पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।19 त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् ।20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तहरूमा भएका सबै यहूदीहरूलाई चिठीहरू पठाए,21 जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्नुपर्ने गराए ।22 यी दिनमा नै यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ती दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खानेकुरा उपहार पठाउनुपर्ने भनी स्थापित गरियो ।23 त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।24 त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पूर’ अर्थात् चिट्ठा हाल्यो ।25 तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिठीहरू लेखेर आदेश दिए ।26 त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,27 यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्नुपर्ने भयो ।28 हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्वस्ततासाथ यो उत्सव मान्न कहिल्यै पनि छोड्दैनन् ।29 अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिठीले पुष्टि गरे ।30 यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तहरूका सबै यहूदीहरूकहाँ पठाइए ।31 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्न चिठीहरूले निश्चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।32 एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्का गर्यो, र यसलाई पुस्तकमा लेखियो ।