8
त्‍यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।2 राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।3 तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्‍ती गरिन् ।4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।5 उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजूरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठीक लाग्छ भने, र हजूरको नजरमा मैले हजूरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्‍तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।6 किनकि मेरो जातिमाथि आइपर्ने विपत्ति देख्दा म कसरी सहन सक्छु ? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु ?”7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्‍यसलाई फाँसीको काठमा झुण्ड्‌याएका छन् किनकि त्‍यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।8 राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेख र त्‍यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्‍यो रद्द हुन सक्दैन ।”9 तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशहरूलाई समावेश गर्दै एउटा आदेश लेखियो । यो प्रान्‍तहरूका बडाहाकिमहरूलाई, भारतदेखि कूश देशसम्मका एक सय सत्ताइस वटा प्रान्‍तहरूका बडाहाकिमहरू र अधिकारीहरूलाई, हरेक प्रान्‍तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।10 मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्‍यसमा राजाको छाप-औँठीले छाप लगाए । राजाको सेवामा युद्धको निम्ति प्रयोग गरिने, राजकीय अस्‍तबलका घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठीहरू पठाए ।11 हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्ति संगठित हुन, अनि तिनीहरू, बालबालिकाहरू, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्‍तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।12 बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्‍तहरूमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।13 यो आदेशको एकप्रति नक्कल कानूनको रूपमा जारी भयो र सबै मानिसहरूकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्‍यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।14 त्‍यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।15 तब मोर्दकैले नीलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठूलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्‍द मनायो ।16 यहूदीहरू खुसी र प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्‍द र सम्मानको दिन भयो ।17 राजाको आदेश पुगेको हरेक प्रान्‍त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्‍द अनि भोज र बिदाको दिन भयो । देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो ।