23
त्‍यसैले राजाले सन्‍देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई तिनीकहाँ भेला गराए ।2 तब राजा परमप्रभुको मन्‍दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्‍दा, पूजाहारीहरू, अगमवक्ताहरू र सानादेखि ठूलासम्‍म सबै मानिसहरू पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्‍दिरमा भेट्टाइएका करारको पुस्‍तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे ।3 राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा हृदय र सारा प्राणले परमप्रभुको पछि लाग्‍न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्‍तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे । यसरी सबै मानिसहरूले यो करार पालन गर्ने सहमति जनाए ।4 तब प्रधान पूजाहारी हिल्कियाह, तिनको अधीनका पूजाहारीहरू र द्वारपालहरूलाई बाल देवता र अशेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्‍दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्‍यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।5 यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्‍च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्‍नलाई चुनेका मूर्तिपूजक पूजाहारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्‍द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्‍थे ।6 परमप्रभुको मन्‍दिरबाट अशेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्‍यकामा बाहिर लगे र त्‍यसलाई त्‍यहाँ जलाए । तिनले त्‍यसलाई पिटेर धूलो पारे र त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए ।7 तिनले परमप्रभुको मन्‍दिरमा भएका झूटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्‍त्रीहरूले अशेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे ।8 योशियाहले यहूदाका सहरहरूबाट सबै पूजाहारीहरूलाई ल्याए, र गेबादेखि बेर्शेबासम्‍म पूजाहारीहरूले धूप बाल्‍ने उच्‍च ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोकाको (सहरका राज्‍यपाल) प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए ।9 ती उच्‍च ठाउँहरूका पूजाहारीहरूलाई यरूशलेममा परमप्रभुको मन्‍दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्‍ना दाजुभाइहरूका बीचमा अखमिरी रोटी खाए ।10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिँड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।11 यहूदाका राजाहरूले सूर्यको सम्‍मानमा बनाएका घोडाहरू तिनले हटाए । ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्‍दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए । योशियाहले सूर्यको सम्‍मानमा बनाइएका रथहरूलाई जलाए ।12 आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्‍दिरका दुई वटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्‍ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले ।13 इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्‍टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्‍तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्‍ट पारिदिए ।14 तिनले ढुङ्‌गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अशेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसहरूका हड्‍डीहरूले भरे ।15 बेथेलमा भएको वेदी र नबातका छोरा यारोबामले (इस्राएललाई पाप गर्न लगाउने) बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्‍यो वेदी र उच्‍च ठाउँहरूलाई जलाए र धूलोपीठो पारे । तिनले अशेरा देवीको खम्बालाई पनि जलाए ।16 योशियाहले त्‍यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्‍यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यसलाई अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।17 तब तिनले सोधे, “मैले देखेको त्‍यो स्मारकचाहिँ केको हो ?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्‍यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।18 त्‍यसैले योशियाहले भने, “त्‍यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् ।” त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे ।19 त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जुन इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठीक त्‍यही गरे ।20 उच्‍च ठाउँहरूका सबै पूजाहारीहरूलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसहरूका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।21 तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, “करारको पुस्‍तकमा लेखिएबमोजिम परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्ति निस्तार-चाड मनाओ ।22 इस्राएलमा शासन गर्ने न्‍यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिल्‍यै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो ।23 तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो ।24 मृतहरू र भूत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निष्‍कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपूजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पूजाहारीले परमप्रभुको मन्‍दिरमा भेट्टाएका व्‍यवस्थाका पुस्‍तकमा लेखिएका वचनहरू पालन गर्ने काम भयो ।25 आफ्नो सारा हृदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्‍यवस्थालाई पालन गर्ने योशियाह भन्‍दा पहिले त्‍यहाँ कुनै अर्को राजा थिएन । न त योशियाहले झैँ तिनी पछि आएका अरू कुनै राजाले नै गर्‍यो ।26 तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्‌कर रीस उठेको थियो ।27 त्‍यसैले परमप्रभुले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई हटाएको छु त्‍यसरी नै मैले चुनेको यो यरूशलेम सहर र ‘मेरो नाउँ त्‍यहाँ हुनेछ’ भनी मैले भनेको त्‍यो मेरो मन्‍दिरसमेत म यहूदालाई पनि मेरो दृष्‍टिबाट हटाउनेछु ।28 योशियाहका सम्‍बन्‍धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका छैनन् र ?29 ती दिनमा मिश्र देशका राजा फारो नेकोले आफ्‍ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए । राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्‍ने उदेश्‍यले गए तर त्‍यहाँ युद्धमा तिनी मारिए ।30 योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए ।31 यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्‍नाकी यर्मियाकी छोरी थिइन् ।32 यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरे ।33 तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे । तब नेकोले यहूदालाई एक सय तोडा चाँदी र एक तोडा सुन कर तिर्न लगाए ।34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बदली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्र देशमा लगे, जहाँ तिनको मृत्‍यु भयो ।35 यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे । फारोको माग पूरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरजस्‍ती तिर्नुपर्ने भयो ।36 यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।37 आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरे ।