24
यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तीन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पूरा हुनलाई यसो भएको थियो ।3 मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्टिबाट हटाउन उहाँले बोल्नुभएको कुरा निश्चित रूपमा पूरा हुन आयो ।4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।5 यहोयाकीमका सम्बन्धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।7 मिश्र देशका राजाले आफ्नो देश भन्दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्र देशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्र देशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए ।8 यहोयाकीनले राज्य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तीन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् ।9 परमप्रभुले दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्यो र सहरलाई घेरा हाल्यो ।11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दश हजारलाई कैद गरेर लगे । देशमा सबै भन्दा गरिबहरूबाहेक कोही छाडिएन ।15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्ति सुयोग्य सबै मानिसहरू - बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बदलेर सिदकियाह राखे ।18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।19 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।