22
योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।2 परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, तिनले त्‍यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिँडे, र तिनी दायाँ र बायाँ लागेनन् ।3 राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्‍दिरमा पठाए,4 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्‍दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्‍दिरका पहरेदारहरूले मानिसहरूबाट जम्‍मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।5 परमप्रभुको मन्‍दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्‍दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् ।6 मन्‍दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्‌गा काटनलाई तिनीहरूले त्‍यो रुपियाँ-पैसा देऊन् ।7 तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।8 प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्‍दिरमा व्‍यवस्थाको पुस्‍तक भेट्टाएको छु ।” त्‍यसैले हिल्कियाहले त्‍यो पुस्‍तक शापानलाई दिए, र तिनले यो पढे ।9 शापानले त्‍यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्‍दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्‍दिरको रेखदेख गर्ने कारिन्‍दाहरूका हातमा दिएका छन् ।10 तब सचिव शापानले राजालाई भने, “प्रधान पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्‍तक दिएका छन् ।” तब शापानले त्‍यो राजाको लागि पढे ।11 जब राजाले व्‍यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्‍याते ।12 राजाले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,13 “जाओ, र यस पुस्‍तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्‍तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।14 त्‍यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटा हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।15 उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,16 “परमप्रभु यसो भन्‍नुहुन्‍छः ‘हेर्, यहूदाका राजाले यस पुस्‍तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्‍दाहरूमा म विपत्ति ल्याउनेछु ।17 किनकि तिनीहरूले मलाई त्‍यागे अनि अन्‍य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रीस उठाए - यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइनेछैन’ ।18 तर परमप्रभुको इच्‍छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिँ तिमीहरूले यसो भन, “तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः19 ‘तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्‍दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो हृदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्‍यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु - यो परमप्रभुको घोषणा हो ।20 हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस्’ ।” ’ ” तब मानिसहरूले राजाकहाँ त्‍यो सन्‍देश लिएर गए ।