19
जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्‍याते, भाङ्‌ग्रा लगाए र परमप्रभुको मन्‍दिरभित्र गए ।2 तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्‍ना र पूजाहारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्‌ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए ।3 तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्‍छ, ‘जसरी बच्‍चा जन्‍मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्‍यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।4 शायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको विरोध गर्न पठाएका छन्, र ती कुराहरूलाई हप्‍काउनुहुनेछ जुन परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको छ । अब यहाँ अझै बाँचेकाहरूका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।5 त्‍यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।7 हेर्, म त्‍यसमा एउटा आत्मा हालिदिनेछु, र त्‍यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्‍यसको आफ्नै देशमा म त्‍यसलाई तरवारले ढाल्‍न लगाउनेछु’ ।8 तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्‍नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए ।9 त्‍यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्र देशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्‍यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्‍देशवाहकहरू पठाए,10 “यहूदाका राजा हिजकियालाई भन्‍नूः ‘यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन’ भनी तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।11 हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्‍यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ ?12 मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन् र ?13 हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजाहरू कहाँ छन् ?14 हिजकियाले सन्‍देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्‍दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।15 तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्‍छ, तपाईं मात्र पृथ्वीका सबै राज्‍यमाथि राजा हुनुहुन्‍छ । तपाईंले नै स्‍वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।16 हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।17 हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्‌गाहरू थिए । त्‍यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे ।19 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्‍ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्‍यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ भनी जान्‍न सकून् ।20 तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।21 त्‍यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः “सियोनकी कन्‍या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस् ? तैँले कसको विरुद्धमा आफ्नो स्‍वर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस् ? इस्राएलका परमपवित्रको विरुद्धमा हो !23 तेरा सन्‍देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, ‘मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबै भन्‍दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्‍यहाँका अग्ला-अग्ला देवदारुका रूखहरू र सबै भन्‍दा असल सल्लाका रूखहरू काटेर ढाल्‍नेछु । म त्‍यसको पल्लो कुनामा, त्‍यसको सबै भन्‍दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतालामुनि मिश्र देशका सबै नदी सुकाएँ ।’25 के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र ? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।26 तिनका थोरै बल भएका बासिन्‍दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्‍छन् ।27 तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैँले रीस गरेको मलाई थाहा छ ।28 तैँले मेरो विरुद्धमा रीस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्‍म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।29 तेरो लागि चिन्हचाहिँ यो हुनेछः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस्, र अर्को साल त्‍यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।30 यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् ।31 किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।32 त्‍यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्‍यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्‍यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।33 जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन - यो परमप्रभुको घोषणा हो ।34 किनकि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु’ ।35 त्‍यस रात परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीहरूलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।36 त्‍यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छोडे र घरमा गए, र निनवेमा बसे ।37 पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पूजा गरिरहँदा तिनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।